शान्तिको प्रतीकका रुपमा रहेका गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै विश्वलाई आकर्षण गर्ने पवित्र भूमि हो । यो लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम् पर्यटकीय केन्द्र हो । विश्व सम्पदा सूचीमा समाहित गरिएको यो भूमिको सम्मानार्थ प्रदेशकै नाम लुम्बिनी राखिएको सत्य हो । मायादेवीको मन्दिर, अशोक स्तम्भ, लुम्बिनी बगैंचा र लुम्बिनी क्षेत्रभित्र रहेका विभिन्न देशका स्तूपा, मन्दिरलगायतले लुम्बिनीलाई सबैको आस्था केन्द्र बनाएको छ ।
लुम्बिनी विविधतायुक्त प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न छ । यिनै सम्पदाको सदुपयोगले लुम्बिनी प्रदेश समुन्नतिको सम्भावनालाई उजागर गर्ने सामर्थ्य राख्छ । हिमाल, पहाड, भित्री मधेश तथा तराई समेटिएको भूगोलको हावापानी, वनजंगल, खनिज तत्त्वजस्ता अमूल्य स्रोत यस प्रदेशमा छन् । २२ हजार २८८ वर्ग किमि क्षेत्रफलमा फैलिएको लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् । तराईका फाँटदेखि पुथा हिमालसम्म यस प्रदेशमा समाहित छन् । शीतोष्ण, समशीतोष्ण र उष्ण जलवायु रहेको यो प्रदेशमा जातीय, धार्मिक विविधता छ । भौगोलिक, धार्मिक, जातीय तथा भाषिक बहुलतायुक्त संस्कृति यस प्रदेशमा छ ।
विश्व सभ्यतामा आदिमानव विचरणस्थल लुम्बिनी प्रदेश विश्वशान्तिका अग्रदूत भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल संसारभरिका लागि पूज्य छ । दुई ठूला कर्णाली र गण्डकी नदी सभ्यताको बीचमा रहेको यो प्रदेशले मानव संस्कृतिमा संसारमै अलग्गै पहिचान बोकेको छ । समुन्नतिका लागि यस प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदाको यथोचित बोध र सदुपयोग आवश्यक छ ।
लुम्बिनी प्रदेशमा तराईको समथर भूभागदेखि रुकुमपूर्वको ७ हजार २ सय ४६ मिटर उचाइको पुथा हिमाल छ । यस प्रदेशमा करिब उच्च हिमाल ३ प्रतिशत, उच्च पहाड ९, मध्यपहाड ३२, शिवालिक पर्वत २८ र तराई मधेश साढे २७ प्रतिशत छ । यस प्रदेशमा भूगोलजस्तै हावापानी पनि विविधतायुक्त छ । यहाँ प्रदेशमा शीतोष्ण, समशीतोष्ण र उष्ण जलवायु पाइन्छ । प्रदेशमा ढुंगा, चुनढुंगा, माटो, फलाम, कोइलालगायतका खनिज उत्खननको सम्भावना छ ।
