सिद्धबाबा सडकखण्डमा रातमा सवारी आवागमन बन्द

पाल्पा : सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ।
बिहीवार अर्थात् आजदेखि आगामी सोमबारसम्म रातिको समयमा सवारी चलाउन रोक लगाइएको हो। प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।

पछिल्लो मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सवारी आवागमन बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले आज सूचना प्रकाशित गरी जनाएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्ड निकै जोखिम क्षेत्र हो। नेपाल मौसम विज्ञान विभागबाट अति भारी वर्षा हुन सक्ने सम्भावनासहितको सूचना जारी भएको तथा यसबाट बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मद्देनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *