आज गण्डकी र लुम्बिनी प्रदेशमा बाढीको उच्च जोखिम

काठमाण्डौ – आज देशका विभिन्न ठाउँका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम छ । छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी, खोला तथा खहरेमा पानीको बहाव एक्कासी बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

यसैगरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव पनि बढ्ने सम्भावना छ ।

यी जिल्लाका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने, नदी किनार हुँदै यात्रा गर्ने तथा खोलानाला तर्नुपर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । वर्षाको समयमा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले खोला तथा नदीमा नजान र जोखिमयुक्त ठाउँमा सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *